धनगढी १ माघ । तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायले आजदेखि माघी पर्व मनाउँदै छन् । तीन दिनसम्म मनाइने माघी पर्व थारु समुदायले धुमधामका साथ मनाउदै छन् । हिजो पुस महिनाको अन्तिम दिनदेखि सुरु भएको माघी पर्व थारु समुदायले तीन दिनसम्म मनाउने गर्दछन् ।
थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि मनाउँने गर्दछन् । माघ १ गतेदेखि थारु समुदायको नयाँ वर्ष सुरु हुने उनीहरुको विश्वास रहेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा नाँचगानको चहलहपल बढेको छ । थारु समुदायको सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् ।

उनीहरु माघीको पहिलो दिन पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने गर्दछन् । माघीमा थारु समुदायमा खानाका धेरै परिकार बनाउने र खाने गर्दछन् । खासगरी उनीहरु मासुा परिकार बनाउन र खान्छन् । उनीहरु माघीमा बङ्गुरको मासु अनिवार्य रुपमा खाजि गर्दछन् । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ भनिन्छ ।
माघीको पहिलो राती गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्ने, नाचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने गर्दछन् । यस्तै आजका दिन अर्थात माघे सक्रान्ति दिन विहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । यसरी, माघे सङ्क्रान्तिमा स्नान गर्नाले पूण्य प्राप्ती हुने थारु अगुवाहरु बताउछन् ।
थारु समुदायमा नुहाइ सकेपछि घरका गएर चामल, नून, बेसार छुने र आफूभन्दा ठूलालाई ढोग गर्ने, सानालाई आशिर्वाद दिने चलन रहेको छ । यो दिन अत्यन्त महत्वपूणर् रहेको र यहि दिनबाट थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको उनीहरुको विश्वास रहेको छ । आजका दिनबाट थारु सम्वत २६४४ सुरु हुने थारु अगुवाहरु बताउछन् ।
थारु समुदायमा आजका दिन गाउँका नेतृत्वकर्ता अर्थात भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्सा अर्थात गाउँको मुखिया प्रथाबाट चल्दै आएको थारु समुदायले यसै दिन गाउँको नेतृत्वकर्ता भलमन्सा चयन गर्दछन् ।
थारु समुदायले माघीलाई कमैया र कमलरीहरु मुक्त भएको स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने गरेका छन् । माघी पर्वले परिवार, इष्टमित्रबीच मेलमिला बढाउने, आपसी सम्बन्ध सु-मधुर बनाउने उनीहरुको विश्वास रहको छ ।

प्रकाशित मिति:
बिहिबार, माघ १, २०७७, ०८:५६:००