धनगढी ४ माघ । सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ । आइतबार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।
गत वर्ष पुस १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड भएको भएपनि यसपाली कोरोना महामारीका कारण निर्धारित समयभन्दा केही ढिलो अवार्ड आयोजना गर्न लागेको बताइएको थियो । अवार्डको दोस्रो संस्करणको तयारी भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले जानकारी दिए ।
२०७६ सालभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च प्रदर्शन गर्न सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने बताइएको छ । अघिल्लो वर्ष जस्तै यस वर्षपनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू रहेका छन् ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र दिइने जानकारी दिइएको थियो ।
यस्तै अवार्डमा सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र दिइने छ । भने विभिन्न विधाका विजेता खेलाडीलाई गिफ्ट ह्याम्पर समेत दिइने जानकारी दिएको छ । अवार्ड कार्यक्रमको डिसहोमको एक्सन स्पोर्टस र धनगढीका संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति:
आईतबार, माघ ४, २०७७, १७:४०:००