धनगढी ४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । आजक दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने आम विश्वास रहेको छ ।
आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालु पुग्ने गर्दछन् । विद्यालय जान उमेर पुगेका साना साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने र विद्यालयमा भर्ना गर्ने चलन छ । आजका दिन लेखपढ गरे भविस्यमा धेरै विद्या प्रप्त गर्ने विश्वासरहेको छ ।
चन्द्रमाजस्तो गोरो वणर् भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्दछन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
आजका दिनबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने हुनाले आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।
गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक-कान छेडिदिने चलन पनि छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई सरस्वतीबाट धेरै विद्या पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन ४, २०७७, ०७:३१:००