बझाङ ४ फागुन । कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंहलाई इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) प्रदान गरिने भएको छ ।
एक लाख रुपैँया राशीको पुरस्कार सिंहलाई प्रदान गरिने जनाइएको छ । कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाउँका ३ सय दृष्टिविहीन भएको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र उक्त समाचार प्रभावकै कारण आँखाको शल्यक्रिया भई आँखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’ शिर्षकको समाचारका लागि पुरस्कार प्रदान गरिएको इञ्जाले बताएको छ ।
पत्रकार सिंह विभिन्न सञ्चारमाध्यममा आवद्द रही विगत १५ वर्षदेखि वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गमका स्थानीयको जनजिविकाबारे कलम चलाउदै आएका छन् । अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो ।
२ वर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी बिस्तार हुने क्रममा रहेको छ ।
संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका बेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य राखेको छ ।
प्रकाशित मिति:
मंगलबार, फागुन ४, २०७७, १६:१४:००