काठमाडौं ४ फागुन । सरकारले भारतीय कम्पनीसँग कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) खरिद गर्ने निणर्य गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्नका लागि अग्रिम भुक्तानी दिने निणर्य गरेको हो ।
भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज कोरोनाविरुद्धको खोपको ४ डलरमा खरिद गर्ने सहमति भएपनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी अग्रीम दिनुपर्ने अडान राख्दै आएको थियो ।
प्रचलित खरिद ऐन र नियमावलीमा खरिद गर्न लागेको सामानको ८० प्रतिशतसम्म मात्रै अग्रिम भुक्तानी दिन मिल्ने प्रावधान छ । सिरम इन्स्टिच्यूटबाट खरिद गरिने खोपको पुर्ण मूल्यको अग्रिम भुक्तानी नभए ब्याच नम्बर जारी गर्न नसकिने अडान लिएपछि मन्त्रिपरिषदले अग्रिम भुक्तानी दिएर खोप खरिद गर्ने निणर्य गरेको हो ।
मन्त्रिपरिषद बैठक सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने सम्बन्धमा मन्त्रिपरिषदले बाधा अड्चन फुकाएको प्रतिकृया दिए । सरकारले सिरम इन्स्टिच्यूटसँग २० लाख डोज कोभिसिल्ड खरिद गर्न लागेको छ । खोप खरिदका लागि ८० प्रतिशत मूल्य राष्ट्र बैंकमार्फत अग्रिम दिइने मन्त्री त्रिपाठीले बताए । त्यसपछि कम्पनीले ब्याच नम्बर हाल्न शुरु गर्छ । सामान पठाउनु अघि बाँकी २० प्रतिशत रकम पनि भुक्तानी गरिने मन्त्री त्रिपाठीले बताए ।
प्रकाशित मिति:
मंगलबार, फागुन ४, २०७७, २२:०८:००