बझाङ ६ फागुन । सामाजिक कुरीति, मुल्यमान्यता र लैङ्गिक विभेदका कारण ग्रामिण भेगका महिलाहरुलाई राजनीतिमा आउन बाधा अवरोध रहेको नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले बताएकी छिन् ।
उनले महिला नेतृत्वमा ल्याउन राजनीतिक प्रशिक्षणको आवश्यक भएको बताएकी छिन् । नेपालको संविधान र पार्टीका विधानहरुले पनि महिला सहभागितालाई जोड दिएको उल्लेख गर्दै डा.सङ्ग्रौलाले शहर बजार क्षेत्रका केहि महिलाहरु राजनीतिमा लागेको भएपनी ग्रामिण भेगका महिलाहरु अझै राजनीतिमा लाग्न नसकेको बताए ।
बिहिबार बझाङ सदरमुकाम चैनपुरमा नेपाल प्रेस युनियन बझाङले गरेको पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्दै उनले महिलाहरुलाई उच्च मनोवलका साथ राजनीतिमा लाग्न समेत आग्रह गरिन् । हाल राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भनिएको भएपनि आफु ५० प्रतिशत सहभागिताका लागि लागिपरेको उनले बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक भएको समेत उनले बताइन् । उनले समाजमा अहिले पनि लैङ्गिक विभेद भएका महिलाले बोल्न हिड्न नपाएको बताइन् । महिला र पुरुषको समान सहभागिताबाट मात्रै समाज र देश अगाडी, बढ्नेमा उनको जोड थियो ।
बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदारकी भागरथी भट्टको न्यायका लागी बैतडी पुगेर ऐक्यबद्धता जनाएर उनी बझाङ पुगेर महिला संघको नेतृत्वमा प्रतिनिधिसभा विघटनको विरोध तथा भागरथी भट्टको न्यायका लागि सदरमुकाम चैनपुरमा निकालिएको विरोध र्यालीमा सहभागि भएकी थिइन् । पत्रकार सम्मेलन प्रेस युनियनका अध्यक्ष रमानन्द जोशीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति:
बिहिबार, फागुन ६, २०७७, १९:१४:००