धनगढी ७ फागुन । आज प्रजातन्त्र प्राप्तीको दिन, फागुन ७ गते देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । १०४ वर्ष लामो जहानियाँ राणा शासनकालको अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा आज ७१औँ प्रजातन्त्र दिवस मनाइँन लागेका हो ।
राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना भएको आजको दिनको सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षका क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवन त्याग्न परेको थियो ।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निणर्ायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकाल सुरुवात भएको मानिन्छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गर यो दिवस मनाउँदै आएको छ ।
यो वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिने भएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।
प्रजातन्त्र स्थापनाको ७० वर्ष पूरा भएर ७१ वर्ष लाग्दा पनि राजनीतिक दलहरूबीच प्रजातन्त्रको सैद्धान्तिक विषयमै भएको विवादले जनताले त्यसको अनभुति गर्न पाएका छनन् र फलस्वरुप उनीहरुमा निराशा र व्यवस्था प्रति नै वितृष्णाको भाव पैदा हुँदै गईरहेको छ । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा रहेका बहुमत राजनीतिक दलहरू प्रजातन्त्र माथिको प्रहार भन्दै आन्दोलनमा रहेका छन् ।
प्रकाशित मिति:
शुक्रबार, फागुन ७, २०७७, ०८:०७:००