बैतडी ७ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको शव यात्रा सुरु भएको छ ।
जिल्ला सदरमुकाम गोठालापानीबाट महाकाली नदी शेराघाटसम्म शव यात्र सुरु भएको छ । हिन्दु धर्म संस्कारअनुसार उनको दाहसंस्कार गरिने परिवारले बताएका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रम उनको बलात्कारपछि घाटी थिचेर हत्या गरिएको थियो ।
भागरथीको हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालय सनातन धर्म माध्यामिक विद्यालय कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई पक्राउ गरेको छ । पक्रउ परेका दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।
भागरथी बेपत्ता भएपछि खोजी गर्दा आफन्त र स्थानीयले दोस्रो दिन माघ २२ गते लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला पारेका थिए । बुधबार नै प्रहरीले हत्या आरोपी दिनेशलाई सार्वजनिक गरिसकेको भएपनि प्रहरीले अभियुक्तमाथि विश्वास गर्न सकिने प्रमाण प्रस्तुत नगरेको भन्दै परिवारले शव बुझ्न मानेको थिएनन् ।
अभियुक्त दिनेशले बिहीबार परिवारकै सदस्य सामू प्रहरीले लिएको बयानमा आफूले नै भागरथीलाई घाईते बनाएर बलात्कार गरि हत्या गरेको स्विकारे पछि आफन्तले शव बुझेका हुन् । मृतक किशोरी स्थानीय सनातन धर्म माध्यामिक विद्यालय कक्षा १२मा अध्ययनरत थिइन् ।
प्रकाशित मिति:
शुक्रबार, फागुन ७, २०७७, १४:१३:००