काठमाडौँ ८ फागुन । सरकारले कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउने अन्तिम तयारीमा रहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशको २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने गरी कोभ्याक्स सुविधामार्फत कोरोनाविरुद्धको खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म कोभ्याक्स सुविधामार्फत ‘कोभिशिल्ड’ खोप आइपुग्ने जानकारी दिए ।
गौतमका अनुसार कोभ्याक्स सुविधामार्फत २० प्रतिशत जनतालाई पुग्ने परिणामको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक गरि पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने निति अनसार उक्त खोप नेपाललाई दिन लागेको हो ।
‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि नेपालमा उक्त खोप लगाउन थालिसकेको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख डोज ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ । सरकारले केही दिनअघि मात्र कोभिशिल्ड खोप २० लाख डोज किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।
सरकारले किनेको २० लाख डोज खोप केही हप्तामा नेपाल आइपुग्ने बताइएको छ । सरकारले सोही खोपर्ला यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने निर्णय गसिकेको छ ।
यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख डोज कोरोनाविरुदको खोप उपलब्ध गराउने जनाएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउन लागेको हो । उक्त खोपलाई आपतकालिन प्रयोगका लागि नेपाल सरकार, औषधि व्यवस्था विभागले समेत अनुमति दिइसकेको छ ।
प्रकाशित मिति:
शनिबार, फागुन ८, २०७७, १७:१७:००