काठमाडौं १० फागुन । संघिय राजधानी काठमाडौंका लागि ल्याउन लागेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर आज परीक्षण गरिंदैछ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन आजदेखि सुरुङमापानी प्रवेश गराएर परीक्षण गर्न लागिएको हो । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको २६ किलोमिटर सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ ।
तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मात्रै मेलम्ची खोलाको पानी काठमाडौँ ल्याइने छ । यो परीक्षण गर्न कम्तिमा दुुई महिना लाग्ने आयोजनाले बताएको छ । खानेपानीमन्त्री मणि थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
मेलम्ची पुगेका मन्त्री थापाले आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने बताइएको छ । आज दिउँसो ११ बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी) ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको हो ।
सबै प्रकृया पुरा गरेर मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरण पथान्तरण सकिएपछि मात्रै सुन्दरीजलमा पानी ल्याइनेछ ।
प्रकाशित मिति:
सोमबार, फागुन १०, २०७७, ०९:१२:००