बैतडी १० फागुन । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टका हत्या आरोपी दिनेश भट्टमाथि अनुसन्धान गर्नका लागि थप ५दिनको म्याद थपिएको छ ।
बलात्कारपछि हत्या गरेको स्वीकार गरेका आरोपी दिनेशमाथि अनुसन्धान गर्न यसअघि गत बुधबार सार्वजनिक गरिए दिन जिल्ला अदालत बैतडीले ५ दिनको अनुमति दिएको थियो । आदालतले दिएको ५ दिनमा अनुसन्धान पुरा नभएपछि बैतडी प्रहरीले थप ५ दिनको समय मागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जनाएका छन् ।
प्रहरी अनुसन्धानमा आरोपी दिनेशले हत्या स्वीकार गरेपछि मृतक भागरथीका दाई शंकर भट्टले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा भागरथीको बलात्कारपछि हत्या भएको थियो । २१ साँझसम्म पनि घर पुगेपछि आफन्तले खाजी गर्दा दोस्रो दिन २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला पारेका थिए ।
घटना सार्वजनिकपछि प्रहरीले गरेको अनुसन्धानमा मृतक भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माध्यामिक विद्यालय कक्षा ११ मा पढ्ने दिनेशको संलग्नता रहेको तथ्य फेला परेको थियो । आरोपी दिनेश भागरथीका छिमेकी र नाताले भाइ पर्छन् । सुरुमा आफुले हत्या गरेको र बलात्कार नगरेको दावी गरेका आरोपी दिनेशले बुधबार उनका बाबुकै सामु लिएको बयानमा घाइते बनाएर बलात्कार गरेको र त्यपछि हत्या गरेको स्वीकारी सकेका छन् ।
मृतक भागरथी स्थानीय सनातन धर्म माध्यामिक विद्यालय कक्षा १२ मा अध्ययनरत थिइन् । आरोपीले बलात्कारपछि हत्या स्वीकार गरेपछि आफन्तले घटना भएको १७ औं दिन शव बुझेर अन्तेष्टि गरिसकेका छन् । भागरथीको भजाइनल स्वाब परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, फागुन १०, २०७७, १६:४१:००