महेन्द्रनगर ११ फागुन । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर २पशुपती टोलमा नाती र बुहारीको कुटपिटबाट गम्भीर घाइते भएका बृद्धको मृत्यु भएको छ ।
घरायसी विवाद हुँदा बुहारी सिता थापा र उनका छोरा अर्जुन थापाले कुटपिट गरेर घाइते बनाइएका ७६ वर्षीय वृद्ध प्रेम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपी दुवै जना मृतक वृद्धका बुहारी र नाती रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर थापाका अनुसार उनीहरुले गत माघ २८ गते घरायसी विवाद हुादा मृतक थापामाथि चिर्पटले कुटपिट गरेर घाईते बनाएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।
कुटपिटबाट घाइते भएका थापाको मृत्युपछि कुटपिटमा संलग्न बुहारी र नातीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । उनीहरुले घरायसी विवाद हुँदा मृतकमाथि चिर्पटले निर्घात रुपमा कुटपिट गरेका थिए ।
प्रकाशित मिति:
मंगलबार, फागुन ११, २०७७, ०७:१६:००