काठमाडौं १३ फागुन । नेपाली काँग्रेस पदाधिकारीको बैठक आज बस्दै छ । प्रतिनिधिसभा पुनःस्थापना पछिको राजनीतिक अवस्थाबारे छलफल गर्न र कसरीअगाडी जान सकिन्छ भन्ने विषयमा छलफलका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।
पदाधिकारी बैठक दिउँसो देउवा निवास बुढानीलकण्ठमा बस्ने तय भएको छ । दिउँसो तीन बजे बोलाइएको बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने र सम्भावित नयाँ सरकार गठन प्रकृयाका बारेमा पनि छलफल हुने छ ।
प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हिजो बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । भेटका क्रममा देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् । आजको बैठकपछि सभापति देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताइएको छ ।
प्रकाशित मिति:
बिहिबार, फागुन १३, २०७७, ०८:३२:००