काठमाडौं १६ चैत । राजधानी काठमाडौंमा होली खेल्ने क्रममा एसिडलाई पानी भनेर छ्याप्दा तीन जना घाइते भएका छन् । शंखरापुर नगरपालिकामा रहेको एक दुध डेरीमा राखिएको एसिडलाई पानी भनेर छ्याप्दा एक किशोरी र दुई बालक घाइते भएका हुन् ।
शंखरापुर नगरपालिका वडा नम्बर १ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका प्रहरीले जानकारी दिएको छ । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको बताइएको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा राखिएको थियो । होली खेल्दै जाँदा डेरीमा पुगेका युवाहरुले पानी भनेर ग्यालिनमा भएको एसिड परेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, चैत १६, २०७७, १२:०३:००