धनगढी २४ चैत । एमालेको माधव-झलनाथ समूहले सुदूरपश्चिम प्रदेशमा समानान्तर कमिटी बनाउने भएका छन् । धनगढीमा रहेका नेता भीम रावलले समानान्तर कमिटी घोषणा गर्ने अन्तिम तयारी थालेका छन् ।
सोमबार देखि धनगढीमा सुरु भएको उक्त समूहको सुदूरपश्चिम प्रदेशस्तरीय विस्तारित बैठकले समानान्तर कमिटी बनाउने निष्कर्ष निकालेको हो । उक्त बठक आजपनि जारी रहेको बताइएको छ । बैठकले जेठ २ अघिका कमिटीहरूलाई सक्रिय बनाउँदै लैजाने तयारी भएको बताइएको छ ।
बैठकले प्रदेशसहित यहाँका ९ वटै जिल्लामा जिल्ला बैठक राखी जिल्ला कमिटी बनाउन निर्देशन गर्ने तायारी भइरहेको छ । नेता रावलले बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहले गरेको एकपक्षीय निणर्यहरू कार्यान्वयन नहुने र नमान्ने जानकारी गराएका थिए ।
बैठकमा सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ जना सांसद मध्ये १६ जनाको उपस्थिति रहेका थियो । माधव समूहका तारा लामा तामाङ बाहेक सबै सांसदहरू उपस्थित रहेको थिए । तामाङ बाहिर रहेकोले नआएको र आउन नसक्ने विषयमा जानकारी गराएका थिए । यस्तै अध्यक्ष ओली समुहमा देखिएका सांसदहरु लीलाधर भट्ट, रतन थापा, नेपालु चौधरी, गेल्बुसिंह बोहरा,माया तामाङ बोहरा र पठानसिंह बोहरा बैठकमा उपस्थित थिएनन् ।
बैठकमा नेपाल समूहका नेता रावल सहित, नेपाल समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित रहेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, भीम रावल लगायत चार जना नेताहरुलाई पार्टीको सदस्य नरहनेगरी ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०७७, १३:३१:००