डडेल्धुरा । २०७७ साल साउन १८ गते गएको पहिरोबाट जोखिममा रहेको आलिताल-७ बलौचा गाउँको बस्ती समयमै सुरक्षीत स्थानमा स्थान्तरण नगर्दा झनै जोखिम बढेको छ । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका ७ बलौचा गाउँको सिरानीबाट पहिरो जाँदा ६ घरपरिवार पुणर् रुपमा विस्थापित भएका छन् भने गाउँभरका बाँकी ८० भन्दा बढी परिवार उपच्च जोखिममा छन् ।

विस्थापित ६ परिवार गाउँ नजिकैको जंगलमा त्रिपालको साहारामा बर्खे झरीमा दिनरात काटी रहेका छन् । उनीहरुले जंगलमा बस्दा आफुहरुलाई सर्प लगायत अन्य विषालु किराको डरले सताउने गरेको बताएका छन् । सर्प र मच्चछरको डरकै कारण रामेसंग निदाउन समेत नपाएको उनीहरुको दुखेको छ । सरकारले खटाएको भूगर्भविदको एक टोलीले बलौंचा गाउँ बस्ती बस्न योग्य नभएको र तत्काल बस्ती स्थानन्तर गरिनु पर्ने रिपोर्ट सहित सिफारिस गरेको एक वर्ष भन्दा बढी समय वितिसक्दा पनि आफूहरुलाई सुरक्षीत स्थानमा सार्नुको सट्टा राजनीति गरिरहेको आरोप लगाएका छन् ।

पहिरो पिडितको समस्या बुझ्न आलिताल-७ बलौंचा पुगेका कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य जनकराज कलौनी सहितको टोलीसंग उनीहरुले आफुहरुको समस्या समाधान गर्नुको सट्टा यहाँबाट बस्ती अर्को स्थानमा सारिए चुनाबमा भोट नपाउने भनेर राजनीति गरिरहेको आरोप लगाए । उनीहरुले आफुहरुको समस्या समाधानका लागि पहल गरिदिनको सट्टा ढीलाढीला गरेर जोखिम बढाउने काम स्थानीय नेताबाट भइरहेको बताए । उनीहरुको समस्या सुनिसकेपछि केन्द्रीय सदस्य कलौनीले आफुले समस्या समाधानका लागि पहल गरेर निश्कर्षमा पुर्याएर छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पहिरोका कारण गाउँका अन्य सबै घरपरिवार उच्च जोखिम अवस्थामा रहेका छन् । लगातारको वर्षापछि गत वर्ष साउन १८ गतेदेखि बलौचा गाउँमा पहिरो खसेको थियो । त्यसबेला डडेल्धुराबाट राजनीतिक दल र प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायले अनुगमन गरी बस्ती सार्ने र विस्तापितहरुको व्यवस्था गर्ने आस्वाशन दिएपनि त्यो पुरा नहुँदा एक वर्ष पछि वर्षादको समय फेरी पहिरो खस्दा समस्या बढेको हो । स्थानीय सरकारको लापरवाहीका कारण समस्या समाधान हुन नसकेको पिडितले बताएका छन् । पटकपटक जिल्ला प्रशासन कार्यलय डडेल्धुराले बस्ती स्थान्तरणका लागि सुरक्षीत स्थान पहिचान गर्न तथा गाउँपालिकामा सुरक्षीत स्थान नभए त्यसको जानकारी दिन स्थानीय सरकारसंग आग्रह गर्दा समेत उसले समयमै त्यो काम नगरेको पिडितको गुनासो छ ।

यस्तै प्रशासनको आग्रह र गृहमन्त्रालयको समन्वयमा बलौचा गाउँको बस्ती सोही स्थानमा बस्न योग्य भए नभएको अध्ययन गर्न काठमाडौंबाट भूगर्भविदको एक टोली समेत गाउँमा पुगी अध्ययन समेत गरेको थियो । उक्त टोलीले आफ्नो अध्ययन पछि बलौचा गाउँको बस्ती तत्काल स्थान्तरण गर्नु पर्ने र त्यहाँ बस्न योग्न नरहेको अन्यथा ठुलो क्षेती हुन सक्ने रिपोर्ट बुझाएको थियो । गाउँ माथी रहेको डाँडो फुटेपछि बलौचासहित उक्त गाउँ तल रहेका पाँच ओटा अन्य गाउँहरु समेत जोखिममा रहेका छन् । पहिरोबाट बलौचाका साथै ओबा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँ समेत जोखिममा रहेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति:
सोमबार, भदौ २१, २०७८, ०८:४०:००