बैतडी । बैतडीमा लामो समयदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका पत्रकार विनोद सिंह विष्टलाई युवा तथा खेलकुद मन्त्रालयले ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको हो ।
विष्टलाई आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका हुन् । मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निणर्य भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । उक्त पुरस्कारले खेलकुदको विकास र विस्तारमा कलम चलाउन उर्जा बढेको बताउदै सम्मानित हुनुभएका पत्रकार विष्टले पत्रकारिता क्षेत्रमा लागिरहन जिम्मेवारी पनि बढाएको बताए । सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका गरि १० जना पत्रकारलाई सम्मान गरेको छ ।
प्रकाशित मिति:
आईतबार, पुस ४, २०७८, १६:१८:००