पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनार जनकपुरलाई बनाएको भन्दै त्यसको विरोधमा मुख्यमन्त्री राउतको गृह जिल्लामा विरोध प्रदर्शन गरिएको र उनको घरमा ढुङ्गा प्रहार भएको हो ।
प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट घरको झ्यालका सीसा फुटेका छन् । प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।
सँगै प्रहरीको टोली रहेकोले प्रदर्शनकारीबाट ठूलो क्षति हुन नपाएको बताइएको छ । नेपाली कांग्रेस नगर कार्यसमितिको अगुवाइमा वीरगञ्जको पावरहाउसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्रीको घरको बाटो अदालत रोड हुँदै नगर परिक्रमा पछि घण्टाघरमा पुगेर सकिएको थियो ।
प्रकाशित मिति:
मंगलबार, माघ ४, २०७८, २१:२७:००