काठमाडौं । प्रहरी नियमावली संशोधन भई राजपत्रमा प्रकाशित भएपछि २० हजारभन्दा बढी कनिष्ट प्रहरी अधिकृतको एकैपल्ट बढुवाको ढोका खुलेको छ । सरकारले प्रहरी नियमावली-२०७१ संशोधन गरेर सोमबार राजपत्रमा प्रकाशित गरेपछि लामो समयसम्म बढुवा नभएर जागिर छोड्ने प्रवृत्तिमा कमी आउने प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ ।
लामो समयदेखि एउटै पदमा कार्यरत रहँदा जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीले संगठनबाट राजीनामा दिएर अन्यत्र राम्रो अवसरको खोजीमा जुट्ने गरेका थिए । संशोधित नियमावली मंगलबारदेखि कार्यान्वयन आएपछि प्रहरी प्रधान कार्यालयले सोहीअनुरूपको कामको शुरुआत गरेको छ । मंगलबार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षकमा दुई जनाको बढुवा गरेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । बढुवा भएका दुवै अधिकृतले मंगलबारदेखि नै अनिवार्य अवकाशसमेत पाएका छन् ।
नेत्रबहादुर जर्घा र हेमबहादुर अधिकारी प्रहरी नायव निरीक्षकमा बढुवा हुनुभएको थियो । यदि संशोधित प्रहरी नियमावली कार्यान्वयनमा नआएको भए उहाँहरुले प्रहरी सहायक निरीक्षकबाट अनिर्वाय अवकाश पाउने प्रहरी प्रवक्ता केसीले बताए । नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म लामो समयसम्म बढुवा नहुँदा कार्यक्षेत्रमा खटिने कर्मचारीको मनोबल गिर्दै गएको भन्दै तीन तह थप्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सरकारले प्रहरी नियमावली संशोधन गरेपछि ४६ हजार प्रहरी जवानमध्ये मापदण्ड पुगेका १५ हजार ५ सय २७ प्रहरी जवान अब प्रहरी सहायक हवल्दारमा बढुवा हुने भएका छन् । जुन प्रहरी संगठनको संरचनामा रहेका ३३ प्रतिशत प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा हुने भएका हुन् । ३ हजार ७ सय ४७ प्रहरी हवल्दार प्रहरी वरिष्ठ हवल्दारमा बढुवा हुने भएका छन् । त्यस्तै, १ हजार ४ सय १७ प्रहरी नायव निरीक्षकमध्ये प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा हुने भएका छन् । संशोधित नयाँ नियमावलीपछि २० हजारभन्दा धेरै कनिष्ठ प्रहरी अधिकृतले लाभ लिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी केसीको भनाई छ । नेपाल समाचारपत्रबाट
प्रकाशित मिति:
बुधबार, माघ ५, २०७८, ०९:१४:००