काठमाडौं । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट भएको छ । विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ अन्य ११ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै चार माध्यमले उल्लेख गरेका छन् । भारतीय नौसेनाको ज्यान जाने गरी भएको यो विष्फोटको घटनाको छानविन भइरहेको छ ।
आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गरेको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ । यसबाट सतहबाट सतहमा र हावामा पनि मार हान्न मिल्ने मिसाइल जडान गरिएको छ । मिसाइल रोधी हतियार र पनडुब्बु रोधी रकेट लन्चर पनि जडान गरिएको छ ।
प्रकाशित मिति:
बुधबार, माघ ५, २०७८, ०९:३९:००