जमुना न्युरे/सुखड । आज ५० औं बिश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘दलदल, पानी, पोखरी र खोला संरक्षण गरे सर्वहित होला’ भन्ने मुल नाराका साथ ५० औं बिश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
यसै अवसरमा कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी तालमा पनि कार्यक्रम गरिन लागेको छ । घोडाघोडी क्षेत्रमा विद्यार्थी, स्थानीय समुदाय र सरकारी निकायका अधिकारीको सहभागितामा सरसफाई, सिमसार संरक्षणका लागि जनचेतना लगायत कार्यक्रम गर्न लागेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

सिमसार जैविक विविधताको दृष्टिले महत्वपूणर् प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १६३ सिमसार क्षेत्र तराईमा रहेका छन् । यस्तै ७९ सिमसार क्षेत्र हिमाली तथा पहाडी क्षेत्रमा रहेका छन् । सिमसार क्षेत्र लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूणर् बासस्थान पनि हो ।
सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । घोडाघोडी ताल सिमसार क्षेत्रमा नेपालमा पाइने ३ सय १९ रैथाने, आगन्तुक र लोपोन्मुख प्रजातिका चराहरु, ४५० जातीका वनस्पति, ३२ प्रजातिका पुतली र २९ प्रजातिका माछा, सरिसृप जनावर, उभयचर प्राणीको बासस्थान हो ।

विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार शहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रअरी २ लाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूणर् जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ ।
सन् २००३ अगस्तमा नेपालले घोडाघोडी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरेको हो । १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको छ । रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् । सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती थपिदै गएको सरोकारवालाहरुले बताएका छन् ।