काठमाडौं । रुसले सोसल मिडिया फेसबुकको मातृ कम्पनी मेटाविरुद्ध फौजदारी कसूरमा अनुसन्धान सुरु गरेको छ । युक्रेनमा जारी रुसी आक्रमणका सन्दर्भमा फेसबुकले आफ्नो घृणायुक्त अभिव्यक्ति सम्बन्धी नियममा परिवर्तन गरी प्रयोगकर्ताहरुलाई रुसी आक्रमणकारीहरुको मृत्युका लागि आह्वान गर्ने छुट दिएसँगै रुसले फेसबुकविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान सुरु गरेको हो ।
रुसी अभियोजनकर्ताहरुले त्यहाँको एक अदालत समक्ष मेटा कम्पनीलाई अतिवादी संगठनको दर्जा दिन अनुरोध गरेको छ । रुसको सञ्चार नियामक निकायले इन्स्टाग्रामलाई समेत रुसमा प्रतिबन्ध लगाएको छ । रुसी अनुसन्धान समितिले भनेको छ- फेसबुक तथा इन्स्टाग्राम जस्ता सोसल नेटवर्कको स्वामित्व रहेको अमेरिकी कम्पनी मेटाका कर्मचारीहरुले रुसी महासंघका नागरिक विरुद्ध हत्या तथा हिंसाको गैरकानूनी आह्वान गरेको विषयमा फौजदारी मुद्दा अगाडि बढाइएको छ ।
उक्त कमिटीले सिधै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई रिपोर्टिङ गर्नेछ । यद्यपि यो फौजदारी अभियोजनको असर के हुने भन्ने चाहिं अहिल्यै प्रष्ट भैसकेको छैन । यो समाचार तयार पार्दासम्म यस विषयमा मेटाले कुनै प्रतिक्रिया जनाएको छैन् । युक्रेनमाथि रुसले हमला सुरु गरेको दुई हप्ता पुगिसकेको छ । बिहीबार मेटा कम्पनीका प्रवक्ताले फेसबुकमा राजनीतिक टिप्पणीको नियम अस्थायी रुपमा केही खुकुलो पारिएको बताउँदै रुसी आक्रमणका सन्दर्भमा रुसी आक्रमणकारीलाई मृत्यु देऊ भन्ने जस्ता पोस्टहरु गर्न सकिने बताएका थिए ।
तर रुसी सर्वसाधारण जनताविरुद्ध हिंसा गर्ने अभिव्यक्तिलाई भने बन्देज लगाइएको उनको भनाइ छ । पुटिन तथा बेलारुसका राष्ट्रपतिको मृत्यु सम्बन्धी पोष्टहरुलाई पनि फेसबुकले फुकुवा गरेको देखिएको रोयटर्सले जनाएको छ । युक्रेन युद्धका विषयमा मेटाले अपनाइरहेको गतिविधिलाई नजिकबाट नियालिरहेको मेटाको निगरानी बोर्डले जनाएको छ । रुसी राष्ट्रपति तथा रुसी सेनाको मृत्युको आह्वान गर्ने फेसबुक पोस्टहरुलाई अनुमति दिने मेटाको कदमप्रति कडा टिप्पणी गर्दै रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले यस्तो गतिविधि रोक्नका लागि निणर्ायक कदम चालिने धम्की दिएका छन् । एजेन्सी
प्रकाशित मिति:
आईतबार, फागुन २९, २०७८, ०८:३०:००