धनगढी/जमुना न्युरे । कैलालीमा चैत १ गतेबाट सुरु भएको वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम आज सम्पन्न गरिएको छ । कैलालीका विभिन्न स्थानहरुमा गरिएको डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतना सप्ताह चैत १ गतेबाट सुरु गरेर आज चैत ७ गते सम्पन्न गरिएको हो ।
डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी जनचेतना मुलक सप्ताहव्यापी कार्यक्रमको समापन धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा रहेको सिद्धबाबा सामुदायिक वनमा गरिएको छ । वन समूहका उपभोक्तालाई डढेलो नियन्त्रणबारे जानकारी गराउन फिल्डमै कार्यक्रम राखियको सामुदायिक वनका अध्यक्ष केशब जोशिले बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यलय धनगढी प्रमुख केशब पराजुलीले गर्मीयाममाा बढी आगलागी हुने तथा आगलागीबाट काठ, जडिबुटी, जिवजन्तुको बासस्थान र स-साना बोटबिरुवाहरु नोक्सान हुने गरेको बताए । उनले वनमा हुने आगलागी रोक्न वन कार्यलय एक्लैले नसक्ने भन्दै यसको नियन्त्रणमा सामुदायिक वनहरुले समयमा ध्यान दिनुपर्ने बताए । डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम प्रत्येक वर्ष चैत १ गते देखि ७ गतेसम्म मनाउने गरिन्छ ।
प्रकाशित मिति:
सोमबार, चैत ७, २०७८, १६:२०:००