काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै राजस्थानले सानदार सुरुवात गरेको हो ।
पहिले ब्याटिङ गरेको राजस्थानले हैदराबादलाई २११ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४९ मात्रै बनाउन सकेको थियो । हैदराबादका एडेन माक्ररमले ५७ र वासिन्टन सुन्दरले ४० रन बनाएका थिए । रोमारियो शेफर्ड २४, ओपनर अभिषेक शर्मा ९, अब्दुल सामद ४, कप्तान केन विलियम्सनले २ रन मात्रै जोडे । निकोलस पुरन र राहुल त्रिपाठीले रनै जोड्न सकेनन् ।
राजस्थानका बलर युजभेन्द्र चहलले ३ र प्रसिद्ध कृष्ण र ट्रेन्ट बोल्टले २/२ विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो । राजस्थानका कप्तान सन्जु स्यामसनले सर्वाधिक ५५, देवदत्त पाडिक्कलले ४१, जस बटलर ३५, शिम्रन हेटमार ३२, यशस्वी जैशवाल २०, रियान प्राग १२ र नाथनले एक रनको योगदान गरेका थिए । बलिङतर्फ हैदराबादका उमरन मलिकले र टि नटराजनले दुई/दुई र भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक/एक विकेट लिएका थिए ।
प्रकाशित मिति:
बुधबार, चैत १६, २०७८, ०८:०२:००