काठमाडौं । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबिच भएको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपाल च्याम्पियन बनेको छ । आज सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा पिएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२ ओभरमा ११८ रनमा समेटिएको थियो । पिएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे। उनले ५९ रन जोडे। करण केसीको बलमा अविनास बोहराबाट क्याच हुनुअघि उनले ३८ बलमा १ चौका र ६ छक्का हिर्काएका थिए । पिएनजीका ओपनरद्वय लेगा सिएका र असद भाला ८-८ रनमा आउट भए। चार्ल्स अमिनी १५ रन, टोनी उरा ०, रिले हेकुरे ६ रन र नोर्मान भानुआ ० र चाड सोपर ७ रनमा आउट भएका थिए । बलिङमा नेपालका लागि दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिन सफल भएका थिए ।
दीपेन्द्रले पाँचौ ओभरको तेस्रो र चौथो बलमा लगातार विकेट लिएका थिए। उनले पिएनजीका कप्तान असद भालालाई ८ रनमा एबिडब्लूको धरापमा पार्दा टोरी उरालाई शून्यमा आउट गरेका थिए । नेपालका कप्तान सन्दीप लामिछानेले पनि १३औं ओभरको तेस्रो र चौथो ओभरमा लगातार विकेट लिए। उनले रिले हेकुरेलाई ६ रन र नोर्मान भानुआलाई शून्यमा आउट गरे। सन्दीपले २ विकेट लिन सफल भए। उनले ४ ओभरमा २५ रन खर्चिएका थिए ।
करण केसीले पनि ३ विकेट लिन सफल भएका थिए । करणले ३ ओभरमा २७ रन दिए । त्यसअघि पिएनजीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन जोडेको थियो । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। उनले नटआउट ५४ रन जोडे। टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका हानेका थिए ।
करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा नटआउट ३३ रन जोडे। करणले ५ चौका र १ छक्का प्रहार गरे। करण र दीपेन्द्रबीच अन्तिम चार ओभरमा ५६ रनको साझेदारी भएको थिया । नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख २९ रनमा आउट भएका थिए । रोहित पौडेलले २ रन भन्दा बढी जोड्न सकेनन् । आसिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो ।
नेपालले १२औं ओभरमा तीन विकेट गुमाएको थियो। आसिफ पहिलो बलमा आउट भएका थिए। तेस्रो बलमा आरिफ शेख र पाँचौ बलमा दिलीप नाथ शून्यमा आउट भए। यो ओभरमा पिएनजीका सेमो कामिआले पाँच बलको अन्तरमा तीन विकेट लिएका थिए भने कुनै रन दिएनन् । सेमोविरूद्ध पहिलो ओभरमा नेपालका ओपनर कुशल भुर्तेलले ३ चौकासहित १३ रन जोडेका थिए । १६ औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रनमा आउट भए। उनले १३ बलमा १ चौका र १ छक्का हानेका थिए ।
प्रकाशित मिति:
सोमबार, चैत २१, २०७८, १६:०७:००