महाकाव्यकार नवराज लम्सालको अग्नि, यो प्रकाशित भएर बजारमा आए देखि यसको बारेमा पढिसकेकाहरूले यसकाबारेमा गरेका समीक्षा पढेर यसलाई पढ्नुपर्ने पुस्तकको सुचिमा राखियो, धनगढीमा यसलाई खुब खोजे, अन्तत: धनगढीको चौलानी डिमार्टमेण्टलको बुक स्टोरमा पाएँ। महाकाव्य पढ्न शुरू गरेँ। पढेर सकेँ पनि ।
पढ्दै गर्दा नेपाली समाजको स्वरुप र त्यस भित्र मान्छे कसरी बाचेको थियो, कसरी बाच्न विवश छ ती पक्षहरूलाई एक सिपालु कालीगढको जिवनका साह्रै उपलब्धिपूर्ण र गौरवपूर्ण समय र सिपको कसरी अवमूल्यन र अवहेलना गरियो कवि स्वयम् महाकाव्यमा पात्र बनेर अभिव्यक्त भएका छन्। उनीसंग अर्का संवाद गर्ने छेलाङ्गी कामी आफ्ना पूर्खाको उपेक्षा गरिएको सिप र जीवनलाई अभिव्यक्त गर्ने अर्का पात्र छन्। महाकाव्यमा आफ्ना पति छेलाङ्गी र कविका विचको वार्ता सुनी मात्र रहेकी नारी पात्र जुनीमाया जुनी कमिनी जो ठकुरीकी छोरी हुन्छिन र कामी संग प्रेम विवाह गरेर जिवनको उत्तरार्द्धमै पुगिसकेकी हुन्छिन जसले नारी हुनुको पीडा र उपेक्षा भोग्छिन। कथित अछुत छेलाङ्गी कामी संग प्रेम विवाह गर्दा संपूर्ण माईती पक्षलाई पनि गुमानु पर्दा मर्माहत र तिरस्कृत हुनुको बहिस्कृत जीवनको भोगाई मार्मिक ढंगबाट महाकविले कहिले सुनामी झैं उमडिने सरिताको तेज प्रवाह त कहिले बगरको जलविहिन अवस्था झै कटु उतार चढावमै बल्झिएको जीवनलाई काव्यिक चित्रण गरेका छन्।
नेपाली समाजमा नारीको पारिवारिक र सामाजिक हैसियत जुन तरिकाले स्थापित गराईएको छ त्यसको विरुद्धमा पनि महाकाव्य सशक्तपूर्वक उद्घोष भएको छ भने जात व्यवस्थाको क्रुर मार मा परेको जातिको त्याग बलिदान सहास पसिना र सिपको शासकले अनि कर्मकाण्डीय इतिहासकारहरूले गर्नुसम्म गरेको अवमूल्यन र उपेक्षालाई कवि र छेलाङ्गी कामीको संवादमा काव्य जगतको नयाँ आयामले नेपाली साहित्यमा प्रवेश पाएको मात्र होईन विगत र वर्तमानका शासकहरूलाई उपेक्षितहरूका वर्तमान पुस्ताले जसरी बुझेको छ त्यसैगरी सामाजिक राजनीतिक र सास्कृतिक पक्षहरूलाई काव्य सरितामा सलल बगेको देखाईएको छ। त्यसलाई समयमै सम्बोधन गर्न सचेत पनि गराएको छ।
आरनको वरिपरि, आरनको केन्द्रमा र आरनकै आगोमा महाकाव्य भर्भराएको छ। इतिहासले बिर्सेका काले कामी, जेठी तरवारका सर्जकले भारीका भारी फलाम खारेर झर्रो इस्पात भैसकेको फलामबाट तरवार बनाउदा राजाले तरवारको गुणस्तर भन्दा पनि फलामको परिमाण घटेकोमा काले कामीको इमान्दारिता माथी कालो पोतेर उनको श्रम, सीप र पसिनाको घोर उपेक्षा गर्ने सेन राजाको कुटु बचनले काले कामी आहत भए। विषाद, ले ग्रस्त भए। राजाले आफ्नो परिश्रम र सीप देखेर स्याबासी देलान् भन्ने आशाले भित्रैदेखी हर्ष विभोर ७५ बर्षे काले कामी विवेकहीन शासकले गरेको बेईज्जतीले हतप्रभ हुनु स्वभाविक थियो। जब राजा हेमकर्णले त्यो तरवारमा रहेको उच्च गुणस्तरीयता देखे। काले कामीको खोजी गर्दा काले कामीको मृत्यू भैसकेको थियो। समयमा नबुझ्दा जेठी तरवारको गुणवत्ता राजाले गरेको अन्याय र त्यसपछी सेनवंशी राजाहरूको ईतिहास लेख्ने वर्णवादी इतिहासकारहरूको उपेक्षाको विरूद्ध महाकाव्य गर्जिएको छ। अक्षरहरू पनि बारुद भन्दा बढी बिस्फोटक हुन्छन लज्जित बनाउन अन्यायी र तिनका अनुयायीहरूलाई।
आरनको महत्व र श्रेष्ठता महाकाव्यमा धार्मिक र साँस्कृतिक परम्परावादी मन्यता ध्वस्त हुनेगरी प्रकट भएको छ। जसलाई निम्न हरफहरूले पुष्टि गर्दछन् ।
अग्निको
आग्नेय दिशामा ब्रह्मा
नैऋत्यमा पौष्टिक
वायव्यमा बलबर्द्धन
इशानमा प्रजापति
मध्येमा विष्णु
आखिर आगैको वरिपरि त रहेछन्
देवी देउता, वेद र सृष्टिक्रम !
हो,
त्यही आगोको मूल मालिक हुन्
विश्वकर्मा ।
अग्नि प्राचीन देव
संपूर्ण प्राणीको देव
अग्निको हतियार हो तरवार: विरताको स्वरुप
जसको अस्तित्व तीनै लोकमा छ, चौधै भुवनमा छ।
हो यी हरफहरू अग्नि र अग्निबाट युद्ध लड्न हतियार निर्माण गर्ने शिल्पीको महायज्ञको बखान गरिरहेका छन्। आरन बाट फर्केपछी चोखिन अनुष्ठान गर्नेहरूलाई आरन र आरनको साधक प्रति नतमस्तक बनाउन ज्ञान गंगा वहाईरहेका छन्। आरनका साधकहरुलाई अछुत ठान्नेहरूलाई शिल्पी र आरनको नया भाष्य निर्माण गर्न बाध्य बनाउन गतिमान काव्य सरिता हुन माथिका हरफहरू। अग्नि प्राचीन र संपूर्ण प्राणीको ईश्वर हो र त्यही अग्निबाट निकालिन्छ तरवार जुन विरताको स्वरुप हो भनेर महाकाव्यमा वर्णन गरिएको छ। सबैको पूज्य अग्निको दैनिक साधना गरेर विरताको प्रतिक तरवार निर्माण गर्ने कामी कसरी अछुत हुन सक्छ? महाकाव्यले प्रश्न गर्छ घनले ठटाए झैं ठटाउछ। विरताको प्रतिक तरवार निर्माण गर्ने शिल्पी कसरी कमजोर हुन सक्छ? विवेकमा लागेको ढक्कन उछिट्याई दिन्छ महाकाव्यले। आफ्नो पेशा र इतिहासमा गौरव गराएको छ सिमान्तहरूलाई अग्निले।
अग्नि यज्ञमण्डपमा पनि
आरनमा पनि
हरेक मान्छेको छतीमा पनि!
यज्ञमण्डपको आगो पूज्य हुन्छ भने आरनको आगो कसरी हुन सक्छ अछुत? सत्ताको युद्ध जित्न हतियार बनाउने आरनको आगो कसरी निम्नस्तरको हुन सक्छ? विभेद गर्नेहरू र विभेदको परम्परा चलाउनेलाई सोध्छ प्रश्न र खिल्ली उडाउछ विभेद गर्ने गराउने संपूर्ण अवयवहरूको। सत्ताको साचो तरवार हो निर्विवाद कुरो हो। साचो बनाउने किन अवहेलित? यी र यस्तै प्रश्नहरूले मानवतालाई जगाएको छ। हाम्रा बारेमा बोलिदिने पनि छन थोरै भएपनि भन्ने महशुस गराएको छ अग्निले। क्रन्तिको शंषनाद गरेर सिमान्तलाई न्यायको लागि लामबद्ध हुन कैयौं आरनहरू एकैपटक भरभराउन आह्वान गरेको छ। मन्दिर र आरन एउटै हो भन्ने संदेश अग्नि महाकाव्यले छरिरहेको छ।
हात्ती बाधेको घरमा आगो लागे पछि फलामे मोटा मोटा साङ्लाहरू नकाट्दा सम्म बाधिएका हात्तीहरूलाई बचाउने अर्को उपाय थिएन जब राजाले अवमूल्यन गरेको जेठी तरवारले ती काट्न असम्भव साङ्लाहरू चटाचट काटेर १३ हात्ती बचाईन्छ। बल्ल राजाले बुझ्छन जेठी तरवारमा निहित रहस्य, अद्भूत शक्ति र ताकत।
मानव सभ्यताले खेती शुरू गर्नु अघि
हाम्रा पुर्खाले आरन शुरू गरे
आज कृषि औजार भन्नू या यन्त्रशाला
घरेलु उद्योग भन्नुस् या आरन मात्रै भन्नुस्
फरक छ उत्पादन र अनुसंधान
फरक छन मर्मत र आपूर्ती
हामी निर्माणका ज्ञाता हौं
तर धेरैका चेतनामा घन र हतौडा हान्न बाँकी छ !
यहाँ आरन शुरू गर्ने छेलाङ्गीका पूर्खाको बखान उनका पूर्खाले गरेको आरनको आविष्कार र त्यही आरनबाट आविष्कार हुने ज्यावल, भाडा वर्तन, धातुका सामग्री मानव जीवन सहज सुविधापूर्ण बनाउन अहम् रहेको कुरा कसले अस्वीकार गर्न सक्ला? आरनको आविष्कार गर्ने छेलाङ्गीका पूर्खा वैज्ञानिक हुन पाउदै पाएनन्। कृषि क्रान्ति के आरन विना कल्पना गर्न सकिन्थ्यो? के औद्योगिक क्रान्ति, बिना आरन सम्भव भएको हो? होईन। अवमुल्यन र उपेक्षाको हद पार गरिसकेको निर्लज्ज हाम्रो समाजका चेतनाहरूमा घन र हतौडा हान्न बाँकी छ भनेर कम्ती आक्रोश अभिव्यक्त भएको हो त? यी हरफहरू नया क्रान्तिको विगुल फुकिरहेका छन्। सिपका खानी विज्ञानका आधार आफ्ना पुर्खाप्रति दलित समुदायलाई गौरवान्वित हुन महाकाव्यले प्रेरित गरेको छ। यस समुदायको अनेक क्षेत्रमा गरिएको योगदानले समाज र देशको मुहार नै फेर्न सकेको यथार्थ नजर अन्दाज गरिरहने र सेन राजा हेमकर्णका चेतनामा जस्तै परिघटनाले हान्ने घन र हतौडा बेला छदै हान्न उद्वेलित गरेको छ।
इतिहासमा यो घटना लिपीबद्ध नहुनु ईतिहास लेख्नेले गरेको अन्याय हो। शिल्पी समुदायले गरेका जतिसुकै महत्व र गौरवका कार्य नजर अन्दाज गरिएका अनेक ऐतिहासिक घटनाहरूको प्रतिनिधि घटना हो, जेठी तरवार र काले कामीको पीडा। यस्ता उपेक्षित समुदायको त्याग, बलिदान, योगदान र संघर्षलाई साहित्यले मात्र न्याय दिन सक्छ। अग्नि महाकाव्य, उपेक्षा गरिएका ऐतिहासिक परिघटनाहरूलाई जनसमक्ष ल्याउन अनेक कृतिहरू लेखिन अझै बाँकी छ भन्ने प्रेरणा हो।
पानी पिएर पनि
नपिईने तिर्खा छ मनमा आफ्नै पुर्खाको!
न कसैले खोजे पुर्खाका कुरा
न त राज्यकै सम्झनाको खातामा बाँकी छ !
देश निर्माणको अभियानमा पुर्खाहरूले गरेका त्याग, बलिदान, संघर्ष र योगदानका किताब पढेर जो कोहीको छाती गर्वले चौडा हुन्छ। तर छेलाङ्गी कामीहरूका पुर्खाको देश निर्माणमा खर्चेका समय, सिप, पसिना र सहासका अभिलेख तिनै इतिहासका पुस्तकमा नभेटिदा कहिले कुन्नी कसले लेखी देला जेठी तरबार र काले कामीहरूका अलिखित ईतिहासका कुरा, हो त्यही प्यास मेटिने अत्तोपत्तो नभएकोले आकुल ब्याकुल छ छेलाङ्गीहरूको मन नमेटिने तिर्खा जस्तै। पुर्खाको योगदानको कदर कहिले होला ? पुर्खाले भोगेको र वर्तमान पुस्ताले भोगिरहेको असमानता, विभेद र उत्पिडन कहिले समाप्त होला? अनेक न्यायिक भावहरू महाकाव्यमा उद्घोष भएका छन्। इतिहासका खाता पानाहरूमा खोजिहुनुपर्छ काले कामीहरूको हिसाब र सुनेर या पढेर गरिएको हिसाब तिनका वर्तमान पुस्ताहरूको छाती गर्वले चौडा हुनुपर्छ। इतिहासको पुनर्लेखन नहुदा सम्म न्याय हराई रहने छ।
निम्न हरफहरू महाकाव्य आरम्भ हुनु पूर्व अग्नि प्रवेश भनेर उल्लेखित कविताका हुन। जुन कवितामा कविले सत्य उद्घोष गर्न कुनै कसर बाकी राखेको छैनन्। आज सम्म जति कविता पढिएको छ र जति सुनिएको छ ती मध्ये केही कविताहरूले यसरी प्रभावित बनाएका छन् कि ती कविता र ती कविलाई सम्झिरहन मन गर्छ किनकी ती कविताहरूले हृदयका तारहरूलाई झंकृत गरिदिन्छन् । मष्तिष्कमा आधिबेहरी ल्याईदिन्छन् सोच चिन्तन र विचार परिवर्तन गरिदिन्छ्न्। भित्रै देखि उथल पुथल ल्याईदिन्छन् । हो त्यस्ता कविताहरू कसरी बिर्सन सकिन्छ? संगीतको भोको हृदय, विचारको भोको मस्तिष्क र जडवत अस्तित्वमा हलचल ल्याईदिन्छन्। हो कसरी बिर्सन सकिन्छ त्यस्ता कविताहरू? मान्छे हुनुको भौतिकता बाहेक मान्छेलाई प्रभावित गर्ने जन्म पश्चात् उसले प्राप्त गर्ने संपूर्ण परिचयहरूलाई त्याग्न सक्ने अद्वितीय हुक्कारले मान्छेका चिन्तन, सोच र विचारमा भुइचालो ल्याईदिने छन् निम्न हरफहरूले। एउटा अव्यक्त उकुसमुकुस व्यक्त हुन सकेको छ। मान्छेलाई मान्छे हुन रोक्ने सबै अवयवहरू पराजित भएका छन्। हो यो महाकाव्यले मानवतालाई विजय गराएको छ। मान्छे हुनुको गौरवलाई स्थापित गरेको छ।
कहीँकतै कुनै भ्रम नहोस्
म बाहुन हुँ
यो जन्मजात पाएको जातीय कोट हो
मलाई मान्छे हुन रोकेको दिन
यो कोट फुकाल्न सक्छु, फुकाल्छु।
निष्ठापूर्वक भन्छु
म पुरेतको रगत हुँ
यो सँस्कारगत पेशा हो
मलाई मान्छे हुन रोकेको दिन
यो पेशा बदल्न सक्छु, बदल्छु।
म पुरुष हुँ
तर म मेरै जीवन अस्तित्वमा
आमाको भूमिका कसरी बिर्सन सक्छु?
कसरी बिर्सन सक्छु पत्नीको प्रेम
र कसरी च्यात्न सक्छु
आशिर्वादको हत्केलामा हुर्किएकी
आफ्नै छोरीको सपना?
र अब त मातृत्वका प्रतिकहरूले
पुरुषत्वको प्राकृतिक चुनौतिलाई
विकल्पमा राख्न थालिसके!
म पहाडिया हुँ
यो जन्मगत भूगोलको कुरा हो
मलाई मान्छे हुन रोकेको दिन
बसाई सर्न सक्छु, सर्छु।
म हिन्दु हुँ
यो विश्वास हो, आस्था हो
मलाई मान्छे हुन रोकेको दिन
यो विश्वास बदल्न सक्छु, बदल्छु।
म आस्तिक हुँ
यो दृष्टिकोण हो
मलाई मान्छे हुन रोकेको दिन
यो दृष्टिकोण फेर्न सक्छु, फेरिन सक्छु।
तर
फेर्न र फेरिन नसक्ने सनातनी सत्य
म मान्छे हुँ
मलाई मान्छे भएर उभिन
मान्छेको अघिल्तिर जोडिने
कुनै पनि विशेषणले कहिल्यै रोक्तैन, रोक्न सक्तैन, दाजै।
इतिहासमा कोरिन नपाएकाहरूलाई न्याय दिन सक्ने न्यायलय साहित्य हो। उत्पिडितहरूलाई न्याय दिन गरिएको फैसला पनि साहित्य हो। अग्नि महाकाव्य लेखिदैनथ्यो भने जेठी तरबार र काले कामीको हराएको ईतिहास कस्ले लेख्थ्यो होला? अग्नि महाकाव्य जस्तो सिर्जनाका सर्जकहरू हुन निष्ठाको न्यायालयका सर्जकहरू हुन्। इतिहासले अन्याय गरेका काले कामीलाई साहित्यले न्याय दिएको छ।
यसरी भन्ने मन लागेको छ दलित आन्दोलनको गीता र वेद हो अग्नि महाकाव्य ।
लेखक दलित साहित्य सोपान, कैलालीका अध्यक्ष हुन् ।