काठमाडौं । भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उत्तराखण्ड आउने नेपाली विद्यार्थीलाई विशेष छुट दिने बताएका छन् । पूर्वमन्त्री तथा एमाले सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड अध्ययनका लागि आउने नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराउन राज्य सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए । भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए । सो उनीहरुबीच क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको उनले बताए ।
भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेको स्वकीय सचिव तिवारीले जानकारी दिए । हालै भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक उत्तराखण्डका मुख्यमन्त्री नियुक्त भएका हुन् । रासस
प्रकाशित मिति:
मंगलबार, वैशाख ६, २०७९, १६:१४:००