काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि उम्मेदवार बनेका छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसामा रहदै आएका पत्रकारले उम्मेदवारी दिएका छन् ।
मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
यस्तै अर्घाखाँचीको सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा-१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिएकी छन् । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन् । उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी हुन् ।
प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईँले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । उनले महासङ्घको साधारण सदस्यता त्यागेर उम्मेदवार बनेका हुन् । चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्वअध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख, पत्रकार महासंघ बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खान डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनमा होमिएका छन् । पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज-८ को वडाध्यक्षमा पत्रकार शतिश दत्त, पत्रकार महासङ्घ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) का तर्फबाट सोमवार उम्मेदवारी दिएका छन् । यसैगरी माओवादी केन्द्रका तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरीले उम्मेदवार बनेका छन् ।
यीलगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बताइएको छ । महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने महासङ्घले जनाएको छ । महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्नसमेत आह्वान गरिसकेको छ ।
महासङ्घले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाउँदै आएको छ ।