काठमाडौं । बैशाख ३० गते हुनै स्थानीय तह चुनावका लागि सत्तारुढ गठबन्धनले आज आइतबार कास्कीको पोखरा र दाङको तुलसीपुरमा आमसभा गर्दैछन् । निर्धारित कार्यतालिका अनुसार सत्तारुढ गठबन्धनले बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा गर्ने छन् ।
सभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । यता स्थानीय चुनावलाई लक्षित गरेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि चितवन र बुटवलमा चुनावी सभा गर्दैछ । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
चितवनमा नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको लागि विजय सुवेदीले प्रमुखमा उम्मेदवारी दिएका छन् । महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहाल र स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलबीचको प्रतिस्पर्धालाई महत्त्वपूणर् रुपमा हेरिएको छ । त्यस्तै बुटवलमा हुने चुनावी सभालाई भने अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ ।
प्रकाशित मिति:
आईतबार, वैशाख २५, २०७९, १०:२१:००