धनगढी । बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गरेका सुदूरपश्चिम प्रदेशमा १५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार विभिन्न जिल्लामा दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना गरी १ं५ जना निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेहरुमा एमालेका ७, काङ्ग्रेसका ४, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक/एक जना रहेका छन् । जसमा बाजुराको बुढीनन्दा नगरपालिका-४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षकी सन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी ६० वर्षकी टुमरा दमाई, बाजुराको त्रिवेणी नगरपालिका-७ मा कांग्रेसकी ६० वर्षकी औलादेवी लुहार र हिमाली गाउँपालिका-१ मा माओवादी केन्द्रकी उम्मेदवार ३६ वर्षकी रुपसरी कामी निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, बझाङको साइपाल गाउँपालिका-१ बाट कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी ३६ वर्षकी सुरती कामी, वडा नम्बर ४ मा कांग्रेसबाटै उम्मेदवार भएकी ४२ वर्षीकी अम्रिता कामी, केदारस्यूँ गाउँपालिका-४ मा दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी ५५ वर्षकी कन्थरीदेवी ओखेडा, केदारस्यूँ ७ की माओवादी केन्द्रबाट दलित महिला सदस्यकी उम्मेवार भएकी ५३ वर्षकी रम्भुदेवी कामी निर्विरोध निर्वाचित भएका छन् ।
बझाङकै जयपृथ्वी गाउँपालिका-४ मा कांग्रेसबाट दलित महिला सदस्यकी उम्मेदवार ५५ वर्षकी पुतलीदेवी कामी र वडा नम्बर ७ की दलित महिला सदस्य कोटामा एमालेकी उम्मेदवार ५३ वर्षकी सन्तोला चुनारा, थलारा गाउँपालिका-६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटाकी उम्मेदवार ३४ वर्षकी सुनीतादेवी गिरी, वडा नम्बर ८ मा एमालेबाट ४३ वर्षकी जमुनादेवी खड्का, मष्टा गाउँपालिका-७ मा एमालेबाट दलित महिला सदस्या कोटामा उम्मेदवार ५१ वर्षकी हिमकला दमाई निर्विरोध भएका छन् ।
यस्तै दार्चुलाको अपिहिमाल गाउँपालिका-३ मा एमालेबाट दलित महिला सदस्य उम्मेदवार भएकी २४ वर्षकी सोभा टमटा, दार्चुलाकै मार्मा गाउँपालिका-५ मा एमालेबाटै महिला सदस्य ३४ वर्षकी कमला महता पनि निर्विरोध निर्वाचित भएका आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति:
आईतबार, वैशाख २५, २०७९, ११:२१:००