धनगढी । सत्ता गठबन्धनको आज धनगढीमा चुनावी सभा हुँदै छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको रङ्गशालामा दिउँसो हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् । देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका छन् । प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका थिए । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड मेयर र माओवादीकी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार रहेका छन् । उनीहरुलाई मत माग्न शीर्ष नेताहरु धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम रहेकोछ ।
यस्तै माओवादी अध्यक्ष प्रचण्डले धनगढीको सयुक्त चुनावस् सभा बाहेक कैलालीकै कैलारी गाउँपालिकाको हसुलियामा माओवादीको चुनावी सभालाई सम्बोधन गर्ने र कञ्चनपुर जिल्लाको बेलौरीको चुनावी सभालाई सम्बोधन गर्ने तथा बैतडी जिल्लको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, वैशाख २६, २०७९, १०:१२:००