डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरा पुगेर डडेल्धुरामा प्रदेशको राजधानी बनाउन सकिने बताएका छन् । बैशाख ३० गते हुने स्थानीय तह चुनावको चुनावी प्रचारका क्रममा गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले मंगलबार डडेल्धुरा बसपार्कमा आयोजित चुनावी सभामा यस्तो धारणा राखेका हुन् ।
‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’ देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरु थिएनन् । त्यसकारण त्यतिबेला डडेल्धरामा राजधानी बनाउन सकिएन । अब संरचनाहरु निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि डडेल्धुरा बनाउन सकिन्छ ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रधानमन्त्री देउवाले प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने बताए ।
प्रधानमन्त्री देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाई मत दिएर जिताउन आग्रह गरे । उनले अमरगढी नगरपालिका जिल्लाकै विशेष ठाउँ भएको बताउदै त्यहाँ मेयरका उम्मेदवार डिल्लीराज जोशीलाई जिताउन आग्रह गरे । सबै स्थानीय तहहरुमा कांग्रेसका उम्मेदवारहरु जित्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २७, २०७९, १४:४७:००