काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन रहेका छन् ।
आयोगमा इन्जिनियर सुमन विमान दुर्घटनाको जाँच इन्चार्ज रहने गरी गठन गरिएको छ । आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् । आयोगलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको जनाइएको छ ।
आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटना भएको थियो । विमान आज मात्रै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा विमानमा रहेका मध्ये अहिलेसम्म २१ जनाको शव फेला परेको र एक जनाको अवस्था अज्ञात रहको जनाइएको छ ।

प्रकाशित मिति:
सोमबार, जेठ १६, २०७९, १६:३८:००