काठमाडौं । नेपाली चलचित्र कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटेका छन् । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ३ हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
आदेश लगत्तै उनलाई रिहा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशले रिहा भएका छन् । आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षका फुर्वा तामाङलाई अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन् । उनले तामाङलाई थप्पड समेत हानेकी थिइन् । उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो ।
आज काठमाडौंको चाबाहिलस्थित केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनसमेत भएका छन् । भिक्षुसमेत रहेका तामाङलाई निःशर्त रिहा गर्नुपर्ने र मिरूनाले सार्वजनिक माफी माग्नुपर्ने उनीहरूको माग थियो । कबड्डी-४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच मंगलबार बिहान छलफलसमेत भएको थियो ।
प्रकाशित मिति:
मंगलबार, जेठ १७, २०७९, १४:२७:००