काठमाडौं । नेकपा माओवादी र नयाँ बनेको दल एकीकृत समाजवादीलाई चुनावपछि गुगलमा खोज्दा पनि नभेटाइने नेकपा हुँदाका दुई मध्येका एक अध्यक्ष केपी शर्मा ओलीको चुनौतीबीच प्रचण्डले आफूलाई बलियो साबित गरेका छन् ।
निर्वाचन परिणामहरुका अनुसार एक्लै प्रतिस्पर्धामा उत्रिएको स्थानमा भन्दा गठबन्धन गरेको धेरै स्थानमा प्रचण्डको पार्टीले जित हात पारेको छ । उनको सबैभन्दा ठूलो सफलता भरतपुरमा भएको छ । छोरी रेणुलाई प्रमुखमा उठाएका उनले पार्टीको कमजोर अवस्थाकाबीच पनि कांग्रेसको मतले जित हात पारे ।
२०७४ मा १४ प्रतिशत पालिकामा जितेको माओवादीले यसपटक १६ प्रतिशत जित हात पारेको छ । तालमेलबाट ६८ पालिकामा जितेको माओवादीले एकल रुपमा ५३ पालिकामा जित हात पारेको छ । उता कांग्रेसले गठबन्धनको बलमा १२१ स्थानमा जित हात पारेको छ । बुधबारको प्रचण्डको भनाइ यसैप्रति लक्षित छ । नेपाली कांग्रेसले १२१ स्थानमा गठबन्धन गरेर जितेको छ जहाँ एक्ला एक्लै प्रतिस्पर्धा गरेको भए अवस्था फरक हुने उनको विश्लेषण छ । पहिलो दल बनेसँगै कांग्रेसमा दम्भ पलाए एमालेकै हालत बनाइदिने उनको चेतावनी छ ।
‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्,’ प्रचण्डले भने,’कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’ माओवादीले कहिले एमाले त कहिले कांग्रेसलाई ठूलो पार्टी बनाइ दिएको भन्दै उनले दम्भ देखाउनेलाई आफूहरुले बिद्रोह गरेर देखाइदिने चेतावनी दिए ।
संघीय र प्रदेश सभा निर्वाचन कहिले गर्ने भन्नेबारे गठबन्धन दलहरुबीच छलफल सुरु भएको भोलिपल्ट उनले कांग्रेसलाई चेतावनी दिँदै सचेत गराए । उनले कांग्रेसमाझ आगामी निर्वाचनमा माओवादीलाई साथ नलिँदा गुमाइन्छ कि भन्ने त्रास दिएका छन् ।
‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप माओवादीलाई छ’ प्रचण्डले भने ,’त्यस्तो गरेको जस्तो पनि देखिन्छ । तर जसले दम्भ देखायो अहंकार त्यसविरुद्ध माओवादीले विद्रोह गर्दै आएको छ ।’उनले अहिले स्थानीय तहको निर्वाचनपछि एमालेको मन रोइरहेको भन्दै त्यस्तै अवस्था संघीय र प्रदेश निर्वाचन पछि कांग्रेसको हुनसक्ने सांकेतिक चेतावनी दिए । सार्वजनिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुले जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको प्रचण्डको भनाइ थियो ।
प्रकाशित मिति:
बुधबार, जेठ १८, २०७९, २२:३०:००