डडेल्धुरा । जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका कांग्रेसको तर्फबाट उम्मेदवार बनेका भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै उपप्रमुखमा पनि कांग्रेस बाट नै उम्मेदवारी दिएको अमृताकुमारी ठडालीमगर निर्विरोध निर्वाचित भएकी छन् । उपप्रमुखमा पनि ठडालीमगरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । प्रमुखमा निर्वाचित भण्डारी अमरगढी नगरपालिका वडा नम्बर ७ को वडा सदस्य पदमा गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विजयी भएका थिए । उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका वडा नम्बर ८ बाट वडा सदस्य पदमा विजयी भएकी थिइन् ।
निर्वाचन कार्यालयले तोकेको अन्तिम समयसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरु सबै निर्विरोध भएका हुन् । निर्वाचित जिल्ला समन्वय समिति सदस्यहरुमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू रहेका छन् । उनीहरु सबै निविरोध निर्वाचित भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने निर्वाचन कार्यालयले जनाएको छ ।
डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अमरगढी नगरपालिकामा प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र अजमेरु गाउँपालिका उपाध्यक्ष जितेको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो । नेकपा एमालेले डडेल्धुरामा कुनैपनि स्थानीय तह जित्न सकेन ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २०, २०७९, २०:१५:००