काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ विमानस्थलका लागि प्रस्तावित गरिएको क्षेत्रभन्दा केही वरपर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्मााको माग राखेर काठमाडौं पुगेको निजगढ सार्वजनिक सरोकार समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै देउवाले र निजगढ विमानस्थल हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा भए बनाएरै छाडने बताएका हुन् ।
देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएका छन् । निजगढको वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणको प्रस्तावित गरिएको क्षेत्र सरकारले तोकेको थियो, तर सर्वोच्च अदालतले विमानस्थल निर्माण सम्बन्धी सबै निणर्य बदर गर्दै प्रश्ताव गरिएको हालको क्षेत्रमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न परमादेश गरेको छ ।
सरोकार सिमितले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ । सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी नेतृत्वको अर्को टोलीले पनि शनिबार प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।
मन्त्री चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापनपत्र पेश गर्दै निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन आग्रह गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले निजगढमा विमानस्थल बनाउन आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको बताएका थिए ।
प्रकाशित मिति:
आईतबार, जेठ २९, २०७९, ११:००:००