काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभाका सदस्यहरुले उठाएका प्रश्नको आज मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित मन्त्रीहरुको जवाफ सकिएपछि बजेट पारित हुने छ । त्यसपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका थिए । उक्त बजेटमाथि जेठ १७ गतेदेखि संसदमा छलफल सुरु भएको थियो । यस्तै जेठ २३ गतेदेखि मन्त्रालयगत रुपमा छलफल सुरु भएको थियो ।
प्रकाशित मिति:
सोमबार, जेठ ३०, २०७९, ०७:१३:००