धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेस उम्मेदवार पदमबहादुर कलेल विजयी भएका हुन् ।
प्रमुखमा विजयी भएका कलेलले १३ मत पाएर विजयी भएका छन् । उनसिंग पराजित नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाएका छन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल १३ मत पाएर विजयी भएका छन् । उनीसंग एमालेका उम्मेदवार राजेन्द्र खनाल १२ मत पाएर पराजित भएका छन् ।
केन्द्रमा बनेको सत्ता गठबन्धनअन्तर्गत कैलाली जिल्ला सम्न्वय समितिको चुनावमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रबाट धनगढीको मेयरमा जितेका गोपाल हमालले पनि मतदान गरेका थिए । यस्तै नागरिक उन्मुक्ति पार्टी र एमालेबीच पनि छुट्टै तालमेल भएको थियो । माओवादीबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएनन् । उनलाई भ्रष्टाचार मुद्दामा निर्वाचन आयोगले निलम्बनमा परेको निर्णय गरेको थियो ।
प्रकाशित मिति:
सोमबार, जेठ ३०, २०७९, १५:००:००